मुम्बई। बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय एकसाथ फिल्ममा देखा पर्ने भएका छन्। विगत ८ बर्षदेखि एकसाथ फिल्म नखेलेका बास्तविक जीवनकै यो जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिन लागेको हो। अनुराग कश्यपको फिल्म ‘गुलाब–जामुन’मा दुवै एकसाथ देखिने निश्चित भएको छ।

यसअघि दुबैले मणिरत्नमको फिल्म ‘रावण’ मा सन् २०१० मा सँगै काम गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार ‘गुलाब–जामुन’मा काम गर्ने खबरलाई अभिषेक र ऐश्वर्या दुबैले सही भएको पुष्टि गरेका छन्। ऐश्वर्याले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘दर्शकहरु हामीलाई फिल्ममा सँगै हेर्न चाहन्छन्। तर हामी दुबैलाई चित्तबुझ्दो कथाको स्क्रिप्ट कम आउँछ। व्यक्तिगत रुपमा हामी अलग अलग कथा चाहन्छौं। यसकारण हामी अलग अलग फिल्ममा काम गरिरहेका छौं।’

गुलाब–जामुन’को कथा दुबैलाई चित्त बुझेकाले आफूहरुले सँगै काम गर्ने निर्णय लिएको उनले बताइन्। अभिषेक र ऐश्वर्या अहिले आ–आफ्नो फिल्म ‘मनमर्जिया’ र ‘फन्ने खां’को प्रमोशनमा व्यस्त छन्। अभिषेक र ऐश्वर्याले हालसम्म ७ वटा फिल्ममा सँगै काम गरेका छन्। ‘गुलाब–जामुन’का आठौं फिल्म हुनेभएको छ।
प्रकाशन मिति–२०७५ साल साउन १७ गते विहीवार ।