काठमाडौं। यस्तो पनि हुंदो रहेछ..जिन्दगीमा कहिले कहिले जस्ता सयौं अत्यन्त लोकप्रिय तथा कालजयी गीतका बरिष्ठ गायक फत्तेमान राजभण्डारीको सातौ पुण्यतिथिका दिन स्थापित फत्तेमान स्मृति प्रतिष्ठान स्थापना भएको छ।

विहीवार कालजयी स्रष्टा फत्तेमान राजभण्डारीको सातौं पुण्यतिथिका दिन स्रष्टा सर्जक तथा नेपालको नंबर वान संगीत तथा नृत्यको विद्यालय साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानको अध्यक्षतामा प्रतिष्ठानको स्थापना भएको हो।

सात बर्षअघि ७८ बर्षको उमेरमा ६ दशक लामो अनवरत नेपाली सांगीतिक इतिहास कायम गरेर भाद्र २५ गते स्वर्गवास बनेका अमर स्रष्टा फत्तेमान राजभण्डारीको इतिहासलाई अझ उजागर गर्नका लागि प्रतिष्ठान स्थापना भएको अध्यक्ष मिलन मोक्तानले वताएका छन्। अमर स्रष्टाको सम्मान हामी सवैले गर्नुपर्दछ र उहाँको अतुलनीय योगदानलाई सदा ताजा बनाएर नयाँ पुस्ताको लागि पनि प्रेरणाको विषय वनाउन आफूहरु क्रियाशील हुने जानकारी पनि अध्यक्ष मोक्तानले दिएका छन्।

नव स्थापित फत्तेमान स्मृति प्रतिष्ठानमा अध्यक्ष मिलन मोक्तान, दीप तुलाधर र भुवन श्रेष्ठ उपाध्यक्ष, रमेश प्रधान महासचिव, विमल श्रेष्ठ कोषाध्यक्ष तथा सदस्यहरुमा डा.गौरीशंकर मानन्धर, श्याम स्मृत, सुप्रिया श्रेष्ठ, लोमस चापागाइँ, सुजता बर्मा रहेका छन्। संरक्षकमा अमर स्रष्टा फत्तेमान राजभण्डारीको धमपत्नी जमुना राजभण्डारी र छोरोहरु रविन्द्र राजभण्डारी, जितेन्द्र राजभण्डारी रहेका छन्। मानार्थ तथा सल्लाहकार समिति पछि गठन गरिने प्रतिष्ठानले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २५ गते विहीवार ।