काठमाडौं। अमेरिकामा नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन्। अमेरिकन आइडलको १८ औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल उपविजेता अर्थात फस्ट रनरअप बनेका हुन।

अमेरिकन आइडल शोको उपाधि भने, जस्ट स्यामले जितेकी छन् । उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो। कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए। अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो। काठमाडौंमा जन्मी हुर्केका दिवेश अध्ययनको क्रममा अमेरिका पुगेका हुन। सानैदेखि गीत गाउने रुचि राख्ने दिवेशलाई अमेरिकन आइडलमा पाएको अभूतपूर्व सफलताले नेपाल र नेपालीको नाम चम्काउन सफलता प्राप्त गरेको छ। स्टेजका थुप्रै प्रोग्र्रामहरुमा गीत गाउंदै आएका उनको निक नेम आर्थर गन हो।
प्रकाशन मिति–२०७७ साल जेठ ५ गते सोमवार ।