वासिङ्गटन, अमेरिका । मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशलाई अमेरिकी एक अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

Donald Trump

अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशविरुद्ध फैसला गरेको हो । संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।

ट्रम्पको आदेशविरुद्ध अमेरिकाका विभिन्न अदालतमा मुद्दा दायर गरिएको थियो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गरेका हुन् ।

यसैगरी राष्ट्रपति ट्रम्पले कुनै पनि शरणार्थीलाई १ सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी निर्देशन पनि जारी गरेका थिए । ट्रम्पको पछिल्लो आदेश यही बिहीबारदेखि लागू हुने थियो । तर हवाइका न्यायाधीशले विपक्षमा फैसला गरेपछि राष्ट्रपतिको आदेश कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ।

यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै गत जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गरेका थिए । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल चैत्र ३ गते विहीवार ।