Sally-yates-

वासिङटन । अमेरिकामा आप्रवासी प्रतिबन्ध गर्न कार्यकारी आदेशमाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्खास्त गरेका छन् । ओबामाको कार्यकालमा नियुक्त भएकी स्याली येट्सले यसअघि जस्टिस डिपार्टमेन्टका वकिलहरुलाई राष्ट्रपतिको कार्यकारी निर्देशन लागु नगर्न निर्देशन दिएकी थिइन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा येट्सले डिपार्टमेन्टलाई ‘धोका’ दिएको उल्लेख गरिएको छ। इस्टर्न डिस्ट्रिक्ट आफ भर्जिनियाका डाना बोएन्टेले उनको स्थानमा कार्यवाहक महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। पत्रमा येट्सले राष्ट्रपतिको आदेश कानुनसम्मत भएकोमा आफू ‘सन्तुष्ट’ नभएको बताएकी थिइन् । जबसम्म म कार्यवाहक महान्याधिवक्ता रहनेछु डिपार्टमेन्ट अफ जस्टिसले कार्यकारी निर्देशनको पक्षमा वकालत गर्नेछैन,’ उनले भनेकी थिइन् ।

तर ह्वाइट हाउसले भने उनले अमेरिकी नागरिक र अमेरिकाको रक्षाको लागि तयार गरिएको कानुनी निर्देशनलाई लागु गर्न नचाहेर धोका दिएको आरोप लगाएको छ । प्रेस सेक्रेटरीले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पले उनलाई उनको पदबाट हटाएको उल्लेख छ । उनको स्थानमा ल्याइने बोएन्टेलाई पनि बाराक ओबामाले नै सन् २०१५ मा नियुक्त गरेका थिए। केही दिनमा ट्रम्पले सिफारिस गरेका सेनेटर जेफ सेसन्स महान्यायाधिवक्ता बन्नेछन् ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।