क्यालिफोर्निया। अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रको जंगलमा भयानक डढेलो फैलिएको छ। डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेको समाचार एजेन्सीहरुले जनाएको छ। डढेलोमा परेर १७ जना बेपत्ता भएका छन्। भीषण डढेलोका कारण हजारौं मानिस घरवार छाडेर हिँडेका छन्।

आगलागीबाट पाँच सय घर ध्वस्त भएका छन्। डढेलोसँगै तीब्र गतिमा आएको हावाहुरीका कारण थप क्षति भएको सरकारी अधिकारीहरुले बताएका छन्। गत सोमबार जंगल नजिक गुडिरहेको एउटा कारमा आगो लागेपछि जंगलमा डढेलो सल्किएको हो।

आगो नियन्त्रणका लागि ३ हजार भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन्। आगलागी हालसम्म ४० प्रतिशत मात्रै नियन्त्रणमा आएको जनाइएको छ।

प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।