काठमाडौं। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा त्यहाँ ४ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ। उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ। यसको बाबजुद कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन्। फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ।

प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ। आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ। विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्र्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।