Hilari Klinton काठमाडौ। अमेरिकाको राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास रज्दै हिलारी क्लिन्टन मुख्य राजनीतिक पार्टीबाट महिला उम्मेद्‌वार हुने निश्चित भएको छ। पछिल्लो पटक पोर्चुरिकोमा भएको पार्टी आन्तरिक निर्वाचनमा जीत र सुपरडेलिगेट थपिएकाले हिलारी सोमबार आवश्यक पार्टी अधिवेशन प्रतिनिधि डेलिगेट जुटाउन सफल भएकी हुन्। डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्‍वार हुन चाहिने भन्दा बढी २३८४ डेलिगेटको समर्थन जुटाउन हिलारी सफल भएकी हुन्।

डेमोक्र्याट पार्टीबाट राष्ट्रपति उम्मेद्‌वार हुन २३८३ डेलिगेट आवश्यक हुन्छ। उनलाई १८१२ डेलिगेट र ५७२ सुपरडेलिगेटको समर्थन प्राप्त भएको छ। तर, मंगलबार ठूलो राज्य क्यालिफोर्निया लगायत ६ राज्यमा निर्वाचन हुन भने बाँकी छ। क्यालिफोर्निया सवैभन्दा बढी डेलिगेट भएको राज्य हो। राष्ट्रपति निर्वाचनमा यस राज्यमा डेमोक्रयाट पार्टीले बलियो पकड राख्दै आएको छ।

क्यालिफोर्निया राज्यमा पार्टीको आन्तरिक प्रतिस्पर्धामा हिलारी झिनो मतले प्रतिद्धन्दी बर्नी सेण्डरभन्दा अघि रहेको सर्वेक्षणले देखाएको छ।
पुरानो सत्तारुढ पार्टी (जीओपी) भनिने अर्को मुख्य पार्टी रिपव्लिकन पार्टीबाट धनाढ्य व्यवसायीले केही दिन अघिनै आवश्यक डेलिगेटको समर्थन जुटाउँदै राष्ट्रपति उम्मेदवार हुने लगभग पक्का भएको थियो।

पूर्वप्रथम महिला हिलारीले आठ वर्ष अघि राष्ट्रपति निर्वाचनमा पनि पार्टी भित्र प्रतिस्पर्धा गरेकी थिईन्। तर, उनले आवश्यक डेलिगेट प्राप्त गर्न सकिनन्। यसका लागि आठ वर्ष कुर्नु पर्‍यो। उनी बाराक ओवामासँग पराजित भएकी थिईन्। पूर्वसिनेटर, ओवामाको प्रथम राष्ट्रपति कार्यकालमा विदेशमन्त्रीको जिम्मेवारी पुरा गरेकी हिलारीलाई अमेरिकी मतदाताहरुले ओबामा कार्यकालको निरन्तरताको रुपमा पनि लिईएका छन्।

प्रथम महिला हुँदा आफ्नी छोरीसँग नेपाल भ्रमण गरेकी हिलारी अप्रवासी प्रति उदार मानिन्छिन्। स्वास्थ्य बिमा, शिक्षा जस्ता क्षेत्रलाई सर्वसुलभ बनाउनुपर्ने नीति राख्ने हिलारी अल्पसंख्यकमा बढी लोकप्रिय छिन्।
प्रकाशन मिति–२०७३ साल जेठ २७ गते विहीवार ।