काठमाडौ। अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ सयभन्दा बढी घाइते भएका छन्। राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो।

त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ। घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वासिङ्टन प्रहरीले जनाएको छ।

रेलका कम्तीमा चारओटा डिब्बा तल राजमार्गमा खसेकोजस्तो घटनापछिको तस्वीरबाट अनुमान लगाउन सकिने अमेरिकी सन्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्री हुन् । तर, तल सडकमा रहेका कसैलाई केही नभएको सरकारी अधिकारीले बताएका छन्।

दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेलको डिब्बा राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल पुष ४ गते मंगलवार ।