काठमाडौं। सिमसिमे पानीमा ज्यानले बेमान गर्ला कि बोलको अत्यन्त लोकप्रिय लोकगीतवाट चर्चामा आएका वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र महत पत्नी कविता केसी महत कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको खुलासा गरेका हुन। गायक महतले आफूहरुले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । गायक महतले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा.सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन्।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन्। यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ। गायक महत तथा उनको पत्नीलाई कोरोना संक्रमण भएको खुलासा भएपछि स्वदेश तथा विदेशमा रहेका कलाकार तथा राजनीतिकर्मी लगायत सवैले स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रकाशन मिति–२०७७ साल साउन २४ गते शनिवार ।