काठमाडौं। अमेरिकामा तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा जनवरी ५ तारिख शनिबार राती भव्य समारोहबीच अवार्ड सम्पन्न भएको हो। यो बर्षको विशेष अवार्ड क्यानाडामा रहेका  नेपाली एक्शन नायक तथा निर्देशक ईश्वर आर थापालाई प्रदान गरिएको छ।

निर्देशक थापालाई नेपाल वाहिर प्रवासमा बसेर नेपाली चलचित्र निर्माण तथा निर्देशनमा विशेष योगदान दिएवापत विशेष अवार्ड प्रदान गरिएको हो। नायक तथा निर्देशक थापाले क्यानाडामा बसेर नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल निर्माण तथा निर्देशन गरेका थिए।

नायक तथा निर्देशक थापाको अलावा यस विशेष अवार्डवाट जसवन्तदेब श्रेष्ठ (अमेरिका), बिक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरिएको थियो । त्यसैगरेर, यो बर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।

स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हाँसिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली बिली गरी दुबै फिल्म सफल भएको थियो । सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमिन। उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी हुन्।

ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले सँयुक्त रुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को ब्यबसायिक फिल्म छक्का पञ्जा २ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हाँसिल गरिन् ।

यस्तै सह अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते। सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै पुरुषोत्तम प्रधानले जितेका छन्।

कलाकार एवम् प्राविधिक बीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् । संगीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पल‘ले हाँसिल गरेको छ।

यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे । चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको काले दाईबाट गायिका मिना निरौलाले प्राप्त गरिन् ।

हलिउडका निर्देशक ,कलाकार एभ क्रुजको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यस पटक ३५ औं संस्करणको अभियानश्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेशदर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो। उनीहरुको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताएका छन्।

दिवंगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको श्रीगजेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्रीरामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता बिक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो ।

समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुँगानालाई सम्मानित गरियो। ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेतातर्फ शुशिल क्षत्रीलाई र अभिनेत्रीतर्फ सारँगा श्रेष्ठलाई, निर्मातातर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरियो।

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती, हरि उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो। यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन्। ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए।

निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका संरक्षक अभिनेता शिब श्रेष्ठ हुन् । अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तीर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए।

अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए।
प्रकाशन मिति–२०७५ साल पुस २४ गते मंगलवार ।