काठमाडौं। विश्वको बैभबशाली मुलुक अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ। अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान शुरु गर्ने परम्पराअनुसार मतदान गरिएको हो।

नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान शुरु भएको हो। अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान शुरु भएको छ। प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झन्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अमेरिकी सरकारका अधिकारीहरुले जनाएका छन् ।

चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत् मत दिइसकेको अधिकारीहरुले भनेका छन्। अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत् लाखौं मतदाताले मतदान गर्ने गर्दछन्।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यसपटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति तथा रिपब्लिकनका तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदबार बनेका जो बाइडेनका बीचमा कडा प्रतिस्पर्धा हुने बताइएको छ। प्रतिस्पर्धी ट्रम्प ७४ वर्ष र बाइडेन ७८ वर्षका भएकाले जो विजयी बनेपनि अमेरिकाको जिम्मेवारी ज्येष्ठ नेतालाई नै पर्ने पक्का छ।

बाइडेनले निकै सरलरूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामकरूपमा प्रस्तुत हुदैआएका छन्।

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिकरूपमा जनवरी २० तारिखमा शपथग्रहण गर्दै ह्वाइटहाउस प्रवेश गर्ने परम्परा रहेको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक १८ गते मंगलवार ।