काठमाडौ। अमेरिकामा नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ)को आयोजना हुने लगभग तयारी पूरा भएको छ। यही सेप्टेम्बर १५ र १६ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा यो महोत्सव हुन लागेको हो।

यस महोत्सवमा आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका ९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री फिल्म छनोटमा परेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले गर्दैआएको यो फिल्म महोत्सव मुलुकबाहिर हुने सबैभन्दा ठूलो नेपाली आदिवासी फिल्म महोत्सव हो।

छनोटमा परेका फिल्ममा नेवार समुदायबाट निर्माता तथा निर्देशक अमृतमान महर्जनको ‘स्वयनगु’,गुरुङ समुदायबाट सुवास गुरुङ निर्देशित ‘भेडीगोठालो, तामाङ समुदायबाट रोशन फयुबाको ‘सेम कि तम’, मगर समुदायबाट मेजन पुनको ‘रैया’, राई समुदायबाट वीरबहादुर राईको ‘यारी’, शेर्पा समुदायबाट आङ कुंगा ङिमा शेर्पाको ‘टिन्छेन फमा’, लिम्बू समुदायबाट किशोर सुब्बाको ‘साम’, मनाङ समुदायबाट खुसबहादुर गुरुङको ‘मनांगे नानी’, याक्खा समुदायबाट अरुण प्रधानको निर्देशन रहेको ‘ओम्ला’ छन्।

यी फिल्ममध्येबाट १२ विधामा निम्फ अवार्ड दिइनेछ । उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, कथा, भेषभूषा, निर्देशक, छायांकन, अभिनय कला, संगीतलगायत अडियन्स च्वाइस अवार्डलाई नगद पुरस्कार दिइनेछ। उत्कृष्ट फिल्मलाई १ लाख २५ हजार रुपैयाँ, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट डकुमेन्ट्रीलाई जनही ३१ हजार रुपैयाँ दिइने भएको छ।

अवार्डलाई निष्पक्ष र विवादरहित बनाउन फिल्म, सञ्चार, अधिकारकर्मी तथा कला र संस्कृति क्षेत्रमा आवद्ध जुरी बनाइएको छ। सञ्चारकर्मी शैलेश श्रेष्ठ संयोजक रहेको जुरीमा शम्भु मोक्तान, रोज लामा, लीला राई, छिरिङ रिञ्जिन गुरुङ छन् । त्यसैगरी लघु फिल्म र डकुमेन्ट्रीका लागि फिप्ना संघीय परिषदका सभामुख विनोद पोमोको संयोजकत्वमा मच्छेदेवी गुरुङ र ङिमा पाख्रिन रहेको जुरी बनाइएको छ ।
प्रकाशन मिति–२०७५ साल भदौ २८ गते विहीवार ।