काठमाडौं। अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज अस्थायी रुपमा सुचारु गर्न सहमति जनाएका हुन्।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ सम्मका लागि संघीय सरकारलाई रकम उपलब्ध गराउने सहमति भएको बताए। योबीचमा दुईदलीय समितिको बैठक बसेर सीमा सुरक्षाका विषयमा विचार गरिने सहमति भएको छ।

राष्ट्रपति ट्रम्पले कंग्रेससँग उचित सम्झौता नभए सरकारका काम पुनः बन्द हुने चेतावनी दिएका छन्। उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट उपलब्ध नगराए पुनः काम ठप्प हुने र आपतकालीन अवस्थाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले बजेट निकासा नगरिदिएपछि संघीय सरकारका करिब ८ लाख कर्मचारीले विगत ३५ दिनदेखि तलव पाउन सकेका थिएनन् । कतिपय कर्मचारी अस्थायी रुपमा कामबाट निकालिएका थिए। अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर कंग्रेससँग माग गरेका थिए।तर कंग्रेस मानिरहेको छैन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ १३ गते आइतवार ।