काठमाडौं। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेको छ। यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन्। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो।

सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। पटक पटकको छलफल पनि तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताइएको छ। सम्झौताले १८ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ। तालिवानीहरुसँग हुने सम्झौताले अफगानिस्तानको युद्ध अन्त्य गरेर आफ्ना सेनालाई घर फिर्ता हुन बाटो खुल्ने राष्ट्रपति ट्रम्प्ले प्रतिक्रिया दिएका छन् ।

विगतमा वार्ताका लागि अमेरिकाले पटक पटक गरेका प्रयास असफल भएपनि तालिवानीहरुको यो निर्णयले शान्ति स्थापना गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ। सम्झौता लगत्तै अफगानिस्तानमा रहेकामध्ये पाँच हजार आफ्ना सेना पहिलो चरणमा फिर्ता लैजाने अमेरिकाको तयारी रहेको छ। सम्झौता सहज रुपमा कार्यान्वयन भए त्यसको केही समयपछि बाँकी रहेका १३ हजार सेना पनि क्रमशः फिर्ता लैजाने अमेरिकाले स्पष्ट पारेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल फागुन १७ गते शनिवार ।