काठमाडौं। अमेरिकाले चीनिया मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ। अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको हो।


हुवाई कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो। त्यसबेला उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विरुद्ध काम गरेको आरोप लगाइएको थियो। यो घटनाले चीन, क्यानडा र अमेरिकाबीचको सम्बन्ध चिसिएको थियो।

क्यानडाले चीनका लागि आफ्ना राजदूतलाई बर्खास्त गरेको भोलिपल्टै अमेरिकाले हुवाई र मेङ्माथि मुद्धा दायर गरेको हो। हुवाई कम्पनी र मेङ्ले भने आरोप अस्वीकार गरेका छन्। तर अमेरिकाले भने हुवाई कम्पनीविरुद्ध विभिन्न २३ वटा आरोप लगाएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।