काठमाडौं। विश्वका नेपालीहरुलाई जोड्ने अभियानको शुरुवात हुने भएको छ। विश्वको जुनसुकै कुनामा रहेतापनि त्यस नेपालीको अर्को नेपालीसंग पहुँच बढाउने उदेश्य नै यस अभियानको हो।

यसलेगर्दा नै यसको अभियानकर्ताहरुको एउटै अवधारणा रहेको छ। त्यो हो–जहाँ रहौं हामी नेपाली, जहाँ बसौं हामी नेपाली, जता जाऔं हामी नेपाली, जसो गरौं हामी नेपाली। नेपाल रहे न हामी नेपाली रहन्छौं, नेपालै नरहे हाम्रो अस्तित्व, पहिचान र बीरताको के अर्थ? मातृभुमीको अगाध माया र माटोको सुगन्धलाई छातीभरि संगालेर सुनौलो भविष्यको खोजीमा बिदेशिएका तमाम नेपालीहरुको भावना एउटै छ, मात्र हामी नेपाली अनि प्यारो शान्तिभुमि नेपाल।

तराई पहाड हिमाल, बिकसित र समुन्नत नेपाल-हरेक नेपालीको यही भावना र चाहनालाई सम्मान गर्दै विश्वको बैभवशाली मुलुक अमेरिकाको न्युयोर्कबाट सम्पूर्ण नेपालीहरुको सहभागितामुलक संस्था हामी नेपालीको उदय भएको छ। बिश्वका २४ भन्दा बढी मुलुकमा समिति गठन भइसकेको हामी नेपाली अन्य मुलुकहरुमा पनि बिस्तारित भैरहेको जनाएको छ।

राजनीति, धर्म र जातभन्दा माथि रहेर विना भेदभाव हरेक नेपालीका समस्यामा मल्हम लगाउने परोपकारी अभियान स्वरुप हामी नेपालीको प्रार्दुभाव भएको हो। नेपाल र नेपालीलाई नै सर्वोपरी सोचेर समग्र नेपालीको भविष्यसंग जोडिएको मातृभुमी नेपाललाई प्रवासी तन, मन र बचनले प्रतिवद्ध भएर जे– जति सहयोग र विकास गर्न सकिन्छ ? सो अनुरुप गर्ने र गराउने अभिप्रायले हामी नेपाली बिश्वकै बैभवशाली शहर न्यूयोर्कवाट जालोसरी फैलिदैं सवै नेपालीसमक्ष पुग्ने क्रममा रहेको अभियन्ताहरुले बताएका छन्।

नोभेम्वर २४ बाट विधिवत शुभारम्भ हुने हामी नेपाली सम्पूर्ण नेपालीहरुको आस्था, बिश्वास र भरोसाको माध्यम बनेर नेपालीहरुको हकहित, सुरक्षा र बिश्वासमा अडिग रहने हामी नेपाली अन्तरराष्ट्रिय समितिले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल असोज २१ गते आइतवार ।