काठमाडौ। अमेरिका र क्यानडा जस्तो बैभवशाली मुलुक गर्भवतीका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेका छन् । सन्तानको सुरक्षित भविष्यका लागि महिलाहरू गर्भावस्थामा यी दुई ठूला मुलुक पुग्ने गरेका हुन् ।

त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मान्छ । यही कारण आमा बन्न लागेका महिला उता गएर बच्चा जन्माउन लालायित हुने गरेका छन् । उतै सन्तान जन्माउने अभिप्रायले विदेश घुम्न जानुलाई ‘बर्थ टुरिजम’ भन्ने गरिएको छ । बर्थ टुरिस्टका रूपमा अमेरिका जाने नेपालीहरू पनि प्रशस्त छन् ।

अमेरिका तथा क्यानाडामा जन्मेका बच्चा आफू बालिग भएपछि (२१ वर्ष पुगेपछि) माता–पितालाई स्पोन्सर गर्न सक्नेछन्, ग्रिनकार्ड दिलाउन सक्नेछन् । बच्चा स्वयंले चाहिँ अधिकांश अवस्थामा अमेरिकी प्रावधानअनुसार निःशुल्क शिक्षा, स्वास्थ र अन्य सरकारी सुविधा उपभोग गर्न पाउनेछन् । अमेरिकी नागरिक भएपछिका फाइदा मनग्गे छन्।

विश्वका ४० भन्दा बढी देशमा भिसाबेगरै घुम्न पाइन्छ। अमेरिका आउ–जाउ गर्न समस्यै भएन, निःशुल्क हुन्छ । शैक्षिक छात्रवृत्ति, अनुदान र ऋणका लागि सहज हुनुका साथै रोजगारीमा विदेशीलाई भन्दा नागरिकले बढी प्राथमिकता पाउने भएकाले गरिखान सजिलो हुने गर्दछ।

बर्थ टुरिस्टका रुपमा नेपालका सेलिब्रेटीहरु निशा अधिकारी, निशा सुनार, ऋचा घिमिरे लगायतले अमेरिका पुगेर बच्चा जन्माएका छन्। ती सेलिब्रेटीका बच्चाहरु अमेरिकन नागरिक बनेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ १६ गते बुधवार।