काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। उनको शनिवार ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।

बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । स्वर्गवासी बुश अमेरिकाका ४१ औँ राष्ट्रपति हुन्। पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो। उनी आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी परेका थिए।

बुशले अमेरिकाको राष्ट्रपति हुनुअघि ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए। तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि बुशको भूमिका महत्वपूर्ण छ । स्वर्गवासी बुशका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए।

अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो मानिन्छ। यसअघि जोन आडम्स र उनका छोरा अमेरिकाको राष्ट्रपति बनेका थिए।
प्रकाशन मिति–२०७५ साल मंसीर १५ गते शनिवार ।