काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए। आफूले निर्माण गर्ने पर्खाले काम गर्ने दाबी पनि ट्रम्पको रहेको छ। संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पले बताए।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरे। मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दाबी ट्रम्पको थियो। तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् ।

ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आंकलन गरिएको छ । डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् ।

संकटकाल घोषणासँगै ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउनेछन् । अमेरिकामा ट्रम्पले संकटकाल घोषणा गरेतापनि त्यहाँको जनजीवनमा भने केही पनि असर नपर्ने बताइएको छ।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।