काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कारको आरोप खण्डन गरेका छन्। ई. जीन क्यारोल नामक महिलाले न्यूयोर्क टाइम्समा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप सहित समाचार प्रकाशित गर्न लगाएपछि उक्त आरोपको खण्डन ट्रम्पले गरेका हुन्।

ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताएका छन्। क्यारोलले अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि बलात्कार गरेको समाचार न्यूयोर्क टाइम्समा प्रकाशित गरेकी थिइन्।

समाचार लेखमा उनले आफूले मुद्दा नजित्ने भएपछि प्रहरीमा उजुरी नदिएको उल्लेख गरेकी छन्। ट्रम्पले सन् १९९५ मा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा आफूलाई बलात्कार गरेको क्यारोलको आरोप रहेको छ। ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरेका छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असार ९ गते सोमवार ।