काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिने भ्रमण गर्ने भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था एएनआई र एएफपीका अनुसार, सोमवार अमेरिकी राष्ट्रपति ट्रम्प भारतको दुईदिने भ्रमणमा पुग्ने भएको हो।

सोमबार नै ट्रम्पले भारतमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन्। ट्रम्पले भारतको ताजमहलको पनि भ्रमण गरेर सूर्यास्तको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। तर, पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने भएको छ। राष्ट्रपति ट्रम्पको भ्रमणले दुईपक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ।

‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन। तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु’–७३ वर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहनेछन्। राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नेछन्।

आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनःनिर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लागेका हुन्। सोहीक्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रंगशालाको उद्घाटन गर्नेछन् ।

ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन्। उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ। अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ।

मोदी र ट्रम्पबीच पछिल्लो ८ महिनामा पाँचौंपटक भेट हुँदैछ। यसअघि, यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ।


प्रकाशन मिति–२०७६ साल फागुन १० गते शनिवार ।