अमेरिका। अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटमा आपसी हित, सहयोग र सहकार्यका बारेमा छलफल भएको दुवै देशका अधिकारीहरुले जनाएका छन् । भेटमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय रहँदै आएको कश्मीर मुद्दाबारे चर्चा भएको थियो। पाकिस्तानी प्रधानमन्त्रीका साथ आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले केही अघि आफूसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई कश्मीर मुद्दामा मध्यस्थताका लागि आग्रह गरेको बताए।

ट्रम्पले दुवै देशलाई मान्य भए आफू कश्मीर मुद्दामा मध्यस्थताका लागि तयार रहेको समेत बताए। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्रम्पको सो भनाइको स्वागत गरेका छन् । अमेरिका विश्वकै शक्तिशाली मुलुक भएको जिकिर गर्दै उनले उपमहाद्वीपमा शान्ति स्थापनाका लागि अमेरिकाले अहम् भूमिका निर्वाह गर्न सक्ने उनले बताए। तर, भारतले भने ट्रम्पको उक्त भनाईको खण्डन गरेको छ।

ट्रम्प र इमरानबीच संयुक्त पत्रकार सम्मेलनलगत्तै सञ्चारमाध्यमले कश्मीर मुद्दाबारे ट्रम्पले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि भारतले आफ्नो भनाइ सार्वजनिक गर्दै मोदीले ट्रम्पसमक्ष त्यस्तो प्रस्ताव नगरेको प्रष्ट पारेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीट गर्दै भनेका छन्, ‘हामीले कश्मीर मुद्दामा मध्यस्थकर्ताका लागि तयार रहेको राष्ट्रपति ट्रम्पको भनाइ पत्रकार सम्मेलनमा हे¥यौं, प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग कुनै त्यस्तो प्रस्ताव गर्नुभएको छैन्।’
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।