काठमाडौं। नेपालमा परिवार नियोजन संवन्धी कार्यक्रमका लागि अमेरिकी सरकारले ५० लाख डलर बृद्धि गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को आर्थिक सहयोग तीन वर्षमा एक करोड २० लाख डलरबाट वृद्धि भई लगभग एक करोड ७० लाख डलर पुर्‍याइएको छ ।

‘यूएसएआईडीको सहायतामार्फत प्रजनन स्वास्थ्य सेवालाई मुलुकभर संस्थागत गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न नेपाल सरकारलाई सहयोग पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारद्वारा प्रदान गरिएको निस्शुल्क जनसेवालाई नेपाली निजी क्षेत्रद्वारा प्रदान गरिने सेवाले थप सहयोग पुर्‍याएको दूतावासले जनाएको छ ।

‘महिलाको स्वास्थ्यमा सुधार ल्याउन नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन । आउँदो पुस्ताका नेपाली अझै स्वस्थ रहुन् भन्ने सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा हामी आफ्नो लक्षित लगानीलाई निरन्तरता दिइरहनेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि यहाँको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्चालन गर्दै आएको छ । अमेरिका नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २० गते बुधवार ।