काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकाको अमेरिकी सेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटपछिको सबैभन्दा ठूलो गिरावट आएको छ।

सोमबारको कारोबारमा सेयर मूल्यमा एकैदिन ११ सय ७५ अंकको गिरावट आएको हो । ४.६ प्रतिशतको गिरावटसहित अमेरिकी सेयरबजार ‘डाऊ जोन्स’ बन्द भएको थियो। सेयरको मूल्य बढ्ने अनुमान गरिएकाबेला महिनौंदेखि बजारमा भएको वृद्धिपछि यो गिरावट आएको हो।

अमेरिकी सेयर मूल्यमा आएको गिरावटको प्रभाव युरोपेली र एसियाली सेयर बजारहरुमा पनि परेको छ । गत शुक्रबार अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको रोजगारीको संख्यामा अपेक्षा गरिएभन्दा बढी तलब वृद्धि हुने देखाइएको थियो । त्यसपछि कम मूल्यमा सेयर बिक्री बढेको हो।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यानकेन्द्रित गरेको र यो अपवादकोरूपमा बलियो रहेको जनाएका छन्। अमेरिकामा सन् २००८ को आर्थिक संकटकाबेला ७७७.६८ अंकले सेयर मूल्यमा गिरावट आएको थियो । यता, मंगलबार भारतीय तथा नेपाली सेयरबजार पनि प्रभावित भएको छ ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।