Ambar-gurungकाठमाडौ। नेपाली अजर–अमर गीतका स्रष्टा अम्बर गुरुङ्गको अवस्था गंभीर रहेको छ। गएराति काठमाडौको टोखारोड स्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारको क्रममा रहंदा एकाएक बेहोश बनेपछि आइसीयुमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ।

खाना खाएको लगतै बान्ता हुने समस्या भएपछि मंगलवार अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङ्गको अवस्था शुक्रबार झिसमिसे विहान देखि गंभीर बनेकोले गुरुङ्गका शुभचिन्तक तथा नातागोताहरुले गुरुङ्गको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल परिसरमा रहेको शिव मन्दिर नजिक दीप प्रज्ज्वलन गर्ने कार्य भएको छ। बेलुकी ६ बजेतिर अम्वर गुरुङ्गको तस्वीर अगाडि राखेर भगवानसंग गुरुङ्गको आयु र आरोग्यताको कामना गरेर दीप प्रज्वलन गरिएको अम्बर गुरुङ्गलाई आदर्श मान्ने बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्गले बताएका छन्।

Ambar-Gurung

Ambar Gurung 1

संगीतकार थुलुङ्गले अम्बर गुरुङ्गको अवस्था गंभीर भएकोमा सवै दुःखी बनेको र गुरुङ्गको स्वास्थ्यलाभको कामना गरिएको भनेका छन्।

नेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति समेत रहिसकेका संगीतज्ञ गुरुङ्गको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा कन्सल्ट्यान्ट फिजिसियन इन्टरनल मेडिसिन, पल्मोनोलोजी तथा क्रिटिकल केयर प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न छन् । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानको लागि महत्वपूर्ण योगदान दिएका छन्।

प्रकाशन मिति–२०७३ साल जेठ २१ गते शुक्रबार ।