काठमाडौं। मेहन्दी कलाको आवश्यकता र महत्व समय अनुरुप हुंदैआएको छ। परम्परागत रुपमा मेहन्दी लगाउने परम्परालाई युवा पुस्ताले परिमार्जन गरेर नयाँपन दिने कार्य भएको छ। जसलेगर्दा मेहन्दीको अझ महत्वमा बृद्धि भएको पाइन्छ। मेहन्दी विशेषत साउन महिनामा महिला दिदीबहिनीहरुले लाउने गरिन्छ। भारतीय विवाह उत्सवहरुमा त मेहन्दीको रसम नै हुने गर्दछ।

नेपालमा पनि त्यसको प्रभाव क्रमिक रुपमा देखिन थालेको छ। नेपालीका विवाह उत्सवहरुमा मेहन्दी लाउने प्रचलन शुरु भैसकेको छ। जसको हात तथा शरीरका कुनै अंगमा मेहन्दी गाढा रुपमा लागेमा माया तथा प्रेम गाढा हुने जनविश्वास पनि बढ्दै गएको पाइएको छ। यसक्रममा मेहन्दी आर्टिष्टहरुको पनि डिमान्ड हुन थालेको छ।

काठमाडौं कालोपुलकी मेहन्दी आर्टिष्ट कविता रोक्काको हिना स्टुडियोमा मेहन्दी कलामा आकर्षित हुनेहरुको भीडले पनि यस कलाको महत्वमा बृद्धि भएको अनुमान गर्न सकिन्छ। व्यावसायिक मेहन्दी कलाकारका रुपमा सन् २०१६ सालदेखि पेशागत रुपमा कार्य गर्दैआएको बताउने कविता रोक्काको व्यस्तता विवाह समारोहहरुमा बढी हुने गरेको छ।

विवाह उत्सवहरुमा कविता रोक्काको निक्कै डिमान्ड हुने गरेको छ। त्यसको अलावा मेहन्दी लाउने तथा लगाइदिने तालिम समेत उनले दिदैआएकी छन्। तीन बर्ष लामो मेहन्दी आर्टको व्यवसायमा कविता रोक्काको विशेषत भारतीय डिजाइन,अरविक डिजाइन, इन्डो अरविक डिजाइन, पश्चिमी डिजाइन, इन्डो पश्चिमी डिजाइन र पुरुषहरुका लागि आवश्यक डिजाइन छन्। यी डिजाइनमा उनको विशेषता रहेको छ। यसैलेगर्दा कविताको मेहन्दी आर्ट अरुको भन्दा फरक पाइन्छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २२ गते शुक्रवार ।