काठमाडौं। नेपाली गायनका युगिन स्वरहरु स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ केही दिनअघि मात्र पोखरामा सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझको आयोजना भएको हो।

विशेष अतिथिका रुपमा पोखरा पुगेका नेपाली कला र संस्कृतिका आदिम भण्डार प्रकाश सायमीले नेपाली गायनका युगिन दुई स्वरहरु अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी सवैलाई सुनाउदा सवै मन्त्रमुग्ध बनेका थिए । नेपाली अजम्बरी गीतका प्रणेता समेत रहेका सायमीले हालसम्म अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी भनिरहदा अरुणा लामा र तारादेवीका ती युगिन पल तथा क्षणलाई फेरि जीवन्त रुपमा विउताउने कार्य भएको थियो। त्यस्तै, कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए ।

पोखरेली एक दर्जन कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएर ट्रिब्यूट दिए । पोखरेली कलाकार सुमधुर स्वरकी धनी रजनी ऋदम राईले ‘यो मन त तलाउ हो ढुंगा नफ्याँक, फेर्दै छु सास बतास नछेक’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएपछि स्मृति साँझ कार्यक्रमको शुभारम्भ भएको थियो । चिसो मौषममा दिनभरीको थकान मेट्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरेली कलाकार, साहित्यकार, पत्रकार, व्यवसायीलगायतका व्यक्तित्वले भरिएको हलमा अर्की कलाकार उषा गुरुङले ‘कालीपारे दाई कति राम्रो ढाकाटोपी काँधैमा गलबन्दी’ बोलको गीत गाएर तारादेवीलाई ट्रिब्यूट दिदा हल गुञ्जायमान भएको थियो ।

पोखरेली दम्पती कलाकार रामभक्त जोजिजु र ईतु जोजिजुले स्वरसम्राट नारायण गोपाल र अरुणा लामाले गाएको ‘जीवनका हरेक मोडहरुमा तिमीले मलाई भेट, म भागेजस्तो गर्छु तिमी बाटो छेकेजस्तो गर’ गीत गाएर चिसो मौषमलाई तताउँदा शितल थापाले ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा’ गीत गाउँदा दर्शकको मन गद्गद् भयो । लक्ष्मी गिरीले ‘घाममा पनि माया लागेको छ’ गीत गाउँदा गम्भीर बनेको माहोल कलाकार देवीमाया गुरुङ र मीलन गुरुङले ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत गाउँदा दर्शकको साथ पायो ।

‘तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथेँ, आँसु झरिसकेछन् म तिनलाई पुछ्न थालेँ’ बोलको गीत अजुदा थापाले र ईतु जोजिजुले ‘पोहोर साल खुशी फाट्दा’ गीत गाउँदा गम्भीर बनेको हलको माहोललाई प्रिया गुरुङले ‘सबैले भन्थे’ बोलको गीत गाएर दिल चङ्गा बनाईन् भने पिङ्गला भट्टले‘फूललाई सोंधे कहाँ गयो कता गयो’ तथा कौशल्या गुरुङ र मीलन गुरुङले ‘ए कान्छा मलाई तारा खसाई देउन’ बोलको गीत गुञ्जाएर दिल आल्हादित बनाए ।

तारादेवीको ‘उकाली ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीमा, जहाँजहाँ जान्छौ तिमी म पवन बनी त्यहीँ आउनेछु’ बोलको गीत पहिलोपटक मेल भर्सनमा गाएर गायक रामभक्त जोजिजुले पोखरेली दर्शकलाई फरक स्वाद चखाए । फरक शैलीको कार्यक्रममा फरक स्वाद दिने प्रयास स्वरुप सानु जोजिजुले बाजाहरुको राजा भनेर चिनिने भ्वायलिनको सुरमा ‘यति धेरै माया दिई, मन भरि दुःख नदेउ, बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाउ’ गीत पस्किएर दर्शको मन जितिन् । अन्तिममा  शीतल थापाले अरुणा लामाको ‘भेटिनु छुटिनु त संसारकै रीत हो’ गीत स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीलाई समर्पण गर्दै कार्यक्रमको बिट मारिन् ।

प्रकाशन मिति–२०७९ साल माघ २५ गते बुधवार ।