Nikhil Upreti with Milan Subedi.1काठमाडौ। चलचित्रका नायक तथा नायिकाहरुका स्वकीय सचिव बलिउड तथा हलिउडमा हुने गरेतापनि नेपाली चलचित्र उद्योगमा भने त्यो परम्पराको खासै शुरुवात भएको पाइदैन। यद्यपि, केही चलेका नेपाली चलचित्रका नायक–नायिकाले घोषित भन्दा अघोषित रुपमा स्वकीय सचिव राखेको पाइएको छ।

विगत पच्चीस बर्षदेखि नेपाली चलचित्र उद्योगमा एकछत्र राज चलाउदै आएका नायक राजेश हमालले घोषित रुपमा स्वकिय सचिव राखेको पाइन्छ। हमालका हरेक कार्यविधिको तिनै स्वकिय सचिववाट हुने गरेको छ। हमालभन्दा अघिका चल्तीका नायक भुवन केसीले पनि केही समय हमालले जस्तै स्वकीय सचिव राखेतापनि हमालले जस्तो त्यसमा निरन्तरता दिएको पाइदैन। हमाल पछिको हाल निक्कै चलेका नायक निखिल उप्रेतीले हमालको परम्परालाई कायम गर्ने कोशिश गरेको पाइएको छ।

Nikhil Upreti with Milan Subedi

नायक उप्रेतीले स्वकिय सचिवको रुपमा यतिखेर चलचित्रकर्मी मिलन सुवेदीलाई राखिएको पाइएको छ। भारतमा ६ बर्ष लामो प्रवास बसाईपछि फेरि नेपाली चलचित्र उद्योगमा क्रियाशील बन्न थालेका नायक उप्रेतीका संपूर्ण शुटिङ्ग सेड्युल मिलाउने देखि हिसाव–किताव राख्ने लगायत उप्रेतीलाई मोटरसाइकलवाट लाने तथा लिन जाने संपूर्ण कार्य सुवेदीवाटै हुने गरेको छ।

चलचित्रकर्मी सुवेदी आफूलाई नायक उप्रेतीको स्वकिय सचिव भन्दा पनि मिल्ने साथी भन्न रुचाउंछन्। नायक उप्रेती पनि सुवेदीलाई राम्रो साथी भन्छन्। भिजन संसारसंगको संक्षिप्त कुराकानीका क्रममा पनि नायक उप्रेतीलाई चलचित्रकर्मी मिलन सुवेदीले नै मोटरसाइकलमा ल्याएका थिए। फर्कने बेलामा पनि सुवेदीकै मोटरसाइकलमा गएका थिए।

अरु, कलाकार कारमा हुइँकिरहेको अवस्थामा नायक उप्रेती भने सुवेदीकै मोटरसाइकल पछाडि बसेर आतेजाते गर्ने कार्य गरिरहेका छन्। नायक उप्रेतीलाई काठमाडौको भीड तथा ट्राफिक जाममा मोटरसाइकलमा नै सहज र सजिलो हुने गरेको छ। त्यसलेगर्दा पनि कार तथा गाडी किन्ने सोच उप्रेतीले गरेका छैनन्।


प्रकाशन मिति–२०७२ साल चैत्र १५ गते सोमवार ।