काठमाडौं। पूर्व नेपाल प्रहरी सुन कुमार अवाललाई प्रहरी भन्दा मेकअप आर्टिष्टको रुपमा धेरैले चिन्ने गरेको छ। नेपाल प्र्रहरीको प्रहरी अनुरोध कार्यक्रमको मेकअप आर्टिष्ट पदमा कार्यरत भएको कारण प्रहरी भन्दा बढी मेकअप आर्टिष्ट भनेर चिनिएको हो।

पचासको दशकमा नेपाल टेलिभिजनमा हिट लिष्टमा परेको प्रहरी अनुरोधका प्राय टेलिसिरियलका कलाकारहरुको अनुहार टल्काउने काम अवालवाट भएको छ। यसकारण पनि खुखाँर खलनायक सुनिल थापा देखि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासम्म अवाल प्रिय छन्।

अर्कोतर्फ, मेकअप गर्दा अभिनयमा रियालिटी ल्याउन रगत चाहिएको अवस्थामा आफ्नो औला चिरेर नै रगत निकाल्ने मेकअप आर्टिष्टको रुपमा अवाललाई चिनिने गरेको छ। पचासको दशकको अत्यन्त लामो र हिट टेलिसिरियल अठोटमा अभिनेत्री सुशीला रायमाझीलाई छुरा हानेपछि रगत आउने दृश्यमा अवालले हातको औला चिरेर रगत निकालेर राखिदिएका थिए। जुन दृश्य अत्यन्त जीवन्त बनेको थियो।

अवालको औलाको रगत सुशीला रायमाझीको पेट हुंदै पेटिकोटमा परेको थियो। पेटिकोटमा परेको रगत नगएपछि त्यो पेटिकोटको पैसा निर्मातालाई सुशीला रायमाझीले तिर्न लगाएको क्षण अवालले हालसम्म विर्सेका छैनन्।

नक्कली रगत भएको भए, धोएर जाने तर, सक्कली रगत भएको कारण धोएर नजानेभएपछि सुशीला रायमाझीले रगत लागेको पेटिकोट त्यही खोलेर फालिदिएकी थिइन्। त्यसको बदलामा नयाँ पेटिकोटको पैसा निर्माताले तिर्नुपरेको थियो।

प्रकाशन मिति–२०७७ साल बैशाख २२ गते सोमवार ।