काठमाडौं। अविरल बर्षाका कारण लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीशहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।

लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाका अनुसार, राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको थिए। घटनामा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेक छन्। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तैगरेर, कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ। कास्की प्रहरीका डीएसपी सुवास हमालका अनुसार, पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन्। अर्का एक बालकको सनाखत भैसकेको छैन्। पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् ।

यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन्। उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन्। घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ। थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए।

यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घरसँगै तीन बाख्रा पनि पुरिएका छन्।
पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ।

ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ । त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको प्रहरीले जनाएको छ । त्यसै गरी कालिमाटी र फुस्रे खोलाबीचमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।


प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।