काठमाडौं। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म रमाइलोसंग मनाउने गरेको जितिया पर्वको आज प्रमुख दिन हो। विशेष गरेर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरुले यो पर्वलाई तीन दिनसम्म रमाइलो गरेर मनाउने गरिन्छ। आज जितिया पर्वको मुख्य दिन हो ।

विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोना संक्रमणको महामारीको कारण खासै उल्लास छैने। यस वर्ष घरमै बसेर जितिया मनाउने कार्य भएको छ। आज जितिया मुख्य दिन अर्थात जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।

बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ। भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन्। खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन्।

त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ। अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन्।


प्रकाशन मिति–२०७७ साल भाद्र २५ गते विहीवार ।