काठमाडौ। हालसम्म अविवाहित रहेका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन्। रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन्।

उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन्। यो समेत गरेर उनी चार सन्तानका पिता बनिसकेका छन् । सन् २०१० जुलाईमा सेरोगेसी आमाको सहयोगवाट एक छोरा जन्माइसकेका छन् । उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका हुन् ।

त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मदतवाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन्।
गत आइतबार सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियरसँगै आफ्नो परिवारको नयाँ सदस्य छोरी र गलफ्रेन्ड रोड्रिग्जलाई भेट्न अस्पताल नै पुगेका थिए।

उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘एलेना मार्टिना भर्खरै जन्मेकी छन्, दुबैजना एलेना र गर्जिना खेलिरहेका छन् , हामी सबैजना धेरै खुशी छौँ ।’ सेरोगेसी आमाको मदतवाट एक छोरा, दुई छोरी र गलफ्रेन्ड रोड्रिग्जले जन्माएकी एक छोरीसहित उनी चार सन्तानका पिता बनेका हुन्।

पोर्चुगलको महान् फुटबल खेलाडीको रुपमा चिनिएका उनी यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल भएका थिए ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर २ गते शनिवार ।