काठमाडौं। लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको संख्यामा दिनानुदिन व्यापक बृद्धि हुन थालेको छ। कोरोना कहरका कारण लकडाउन हुने सूचना पाउनासाथ र लकडाउन भएको लगतै काठमाडौं छाडेर काठमाडौं वाहिर जानेहरु फेरि काठमाडौं फर्कन थालेपछि समस्या उत्पन्न भएको छ।

कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नगराउन र नगर्न दिन भनेर स्थानीय निकायले नै कडा निर्देशन दिएपछि काठमाडौं उपत्यकाका घरधनीहरुले घरमा प्रवेश गर्न नदिएपछि कोरोना संक्रमण परीक्षण गर्न काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजारौ जाने थालेपछि अस्पताललाई थामिनसक्नु भएपछि गृह मन्त्रालयले परिपत्र नै जारी गरेको छ।

गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो। पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृह मन्त्रालयमा पत्र पठाएपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो।

जसअनुसार, काठमाडौं उपत्यका वाहिरवाट उपत्यका आउनेहरु अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। यस अवधिमा कोरोना संक्रमण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भएको छ।

Photo By-Kabindra Man Shakya
प्रकाशन मिति–२०७७ साल असार ९ गते मंगलवार ।