नवलपरासी। दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेललाई त्यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ।

त्यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्स पोस्टग्राजुएट रिसर्च’ को अवार्ड कँडेलले जितेका हुन्। यो पुरस्कार विदेशी विद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ। उनलाई त्यहाँका व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए।

पश्चिम नेपालको बागलुङको गल्कोटमा जन्मिएका हिमाल कंडेल आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अस्ट्रेलिया गएका थिए । सम्पूर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफू छनोट भएर प्रतिष्ठित अवार्ड पाउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको कंडेलले भनेका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक ५ गते सोमवार।