काठमाडौं। अष्ट्रेलियामा नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा अघिल्ला बर्षहरुमा भन्दा अझ अग्रपंक्तीमा पुग्न सफल भएका छन्। त्यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सूचीमा घले दम्पति १ दशमलव १८ बिलियन डलरसहित ७८ औं नम्बरमा पर्न सफल भएका छन्।

लमजुङमा जन्मिएका शेष घले करिब दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया गएका थिए। सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका घले पहिलोपटक सन् २००९ मा बीआरडब्लू पत्रिकाले सार्वजनिक गर्ने अस्ट्रेलियाली धनीहरूको सूचीमा पर्न सफल भएका थिए।

लामो समयदेखि अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको फाइनान्सियल रिभ्युले शुक्रबार साँझ सार्वजनिक गरेको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ७८ औं धनी बन्न सफल बनेका हुन्। यसअघि गत मार्चमा त्यहाँकै प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको धनीहरूको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ८५ औं धनीको सूचीमा सूचीकृत भएका थिए।

घले दम्पती पहिलोपटक यस वर्षदेखि अस्ट्रेलियाको बिलिनियरको सूचीमा पर्न सफल बनेका हुन्। गत वर्ष ८ सय ७६ मिलियन डलरसहित ८१ औं धनीको सूचीमा परेका थिए। अस्ट्रेलियाको मेलबर्नमा रहेर व्यवसायमा संलग्न घले दम्पतीले आफ्नो व्यवसायलाई घरजग्गा, होटल, शिक्षा लगायतका विभिन्न क्षेत्रमा बढाएका छन्।

करिब दुई दशक पहिले नेपालबाट विद्यार्थीका रूपमा आएका उनले सुरुका समयमा सामान्य विद्यार्थीसरह नै मेहनत गरेका थिए। हरेक वर्ष सयौं मिलियन डलर आफ्नो कुल सम्पत्तिमा थप्दै आएका उनको सम्पत्ति दुई वर्षअघि सन् २०१७ मा ६ सय ४७ मिलियन रहेको थियो।

घलेले नेपालमा ८ अर्बको लागतमा शेराटन होटल निर्माण गरिरहेका छन् भने मेलबर्नको मुख्य क्षेत्रमै २९० कोठाको पाँचतारे होटल निर्माण गरिरहेका छन्। यसका साथै २० हजार वर्गमिटर क्षेत्रफलको कार्यालय भवनसमेत निर्माण भइरहेको छ। पहिले २ वटा भवनमा निर्माण गर्ने भनिएको उक्त होटल अहिले एउटा भवनमा सबै संरचना निर्माण गरिने भएको छ।

यसका साथै उनको मेलबर्नमा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी नामको शैक्षिक संस्थासमेत सञ्चालनमा छ।


प्रकाशन मिति–२०७६ साल जेठ १८ गते शनिवार ।