काठमाडौं। नेपालको राजधानी काठमाडौको पहिचान तथा शानको रुपमा रहेको असनमा १ सय ४ बर्षका ज्येष्ठ नागरिकको सम्मान भएको छ। भिन्तुना गुठी असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम उक्त सम्मान भएको हो।

गुठीले शनिवार काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १ सय ४ वर्षका मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो।

सोही कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर २५ बाट अध्यक्षमा निर्वाचित नीलकाजी शाक्य र वडा नम्बर २७ बाट अध्यक्षमा निर्वाचित चिनियाँमान बज्राचार्यलाई पनि बधाई सहित सम्मान प्रदान गरिएको थियो।

सम्मानित तिनै व्यक्तित्वलाई गुठीका संस्थापक अध्यक्ष कृष्णमान तुलाधरले दोसल्ला ओढाइ सम्मान प्रदान गरेका थिए। गुठीका वर्तमान अध्यक्ष उपेन्द्रकाजी शाक्यले अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा सम्मानित वडाध्यक्षद्वय शाक्य र बज्राचार्यले काठमाडौंको प्राचिन बजार असनलाई अब आधुनिकीकरण तर्फ लग्दै यसको पराम्परागत पहिचानलाई पनि संरक्षण गर्ने बताए।

सो भन्दा अगाडि असनका स्थानीय ज्येष्ठ नागरीक १ सय ४ वर्षीय मोतिकृष्ण तुलाधरले पानसमा बत्ती बाल्दै कार्यक्रमको औपचारीक उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिको साथै कविता वाचन र प्रहसन पनि प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिको क्रममा १ सय ५० वर्ष पुरानो दाफा भजनको साथै मृदंग भजन, ज्ञानमाला भजन, मोडर्न नेवाः इंगलिस स्कूलका विद्यार्थीहरुको नृत्य, ज्याज संगीतमा कत्थक डान्स पनि प्रस्तुत गरिएको थियो।

साथै इमेज च्यानलको लोकप्रिय नेपालभाषाको कार्यक्रम समयबजिको प्रहसन, भीम तुलाधर, प्रवेशमान शाक्य लगायतका लोकप्रिय गायकहरुको पनि गायन प्रस्तुति रहेको थियो।

प्रकाशन मिति–२०७४ साल चैत्र १० गते शनिवार ।