काठमाडौं। काठमाडौंको मुटु असन बजारमा पिशाच चतुर्दशी अर्थात पाहाँ चह्रेको अवसरमा परम्परागत खट जुधाउने जात्रा संपन्न भएको छ। विशाल जात्राप्रेमीहरुको भीडवाट कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाएर सोमवार जात्रा संपन्न गर्ने कार्य भएको हो।

असनको मौलिक तथा ऐतिहासिक परम्पराको रुपमा रहेको खट जुधाउने जात्रालाई यो बर्ष कोरोनाको कहरले छोएन । जात्रालाई शानदार रुपमा संपन्न भएको स्थानीयको भनाई रहेको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्यः (लुकिराखेको महादेव)लाई खोस्रिएर बाहिर निकाली पूजा गरिन्छ ।

त्यसकै वरिपरि व्रतबन्ध नगरेका किशोर र इही (बेलविवाह) नगरिएका किशोरीरूलाई भात खुवाइन्छ । लुकुमाद्यःको प्रसादका रूपमा त्यसरी भात खुवाउन दिएमा किशोरकिशोरीलाई रोगव्याधिले छुन सक्दैन भन्ने जनविश्वास छ । विवाह भइसकेका चेलीबेटी, आफन्त साथीभाइलाई पाहुना वोलाएर सत्कार गर्ने कार्य भएकोले यस पर्वलाई पाहाँ चह्रे भनिएको हो। पाहाँ चह्रेको अन्तिम दिन असनमा खटजात्रा गरेर खट जुधाउने जात्रालाई विशेष दिनका रुपमा लिइने गरेको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र ३० गते सोमवार ।