ललितपुर। हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः पर्व यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ ।

यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै बुधवार परम्परालाई निरन्तरता दिने महत्वपूर्ण ध्येय सहित सफलतापूर्वक सम्पन्न गर्न सकेको जनाएको छ।

परम्परालाई सिमित र सांकेतिक रूपमा संचालन गर्न केवल दुई जना श्रद्धेय गुरुजुहरु, त्यसैगरी झण्डा, निसला, गुलुपा, देवा, बत्ती, कपुर, हर्रो चढाउनका लागि संयोजकहरु (कजि, कजिनी), टोल प्रमुखहरु (त्वाःमो, त्वाःमोनीहरु)का साथमा मतयाः सञ्चालन समितिका सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुको टोली लागि परेका थिए। परिक्रमा टोलीले महत्वपूर्ण महाविहारहरु, विहारहरु, बहिलहरु र अशोक स्तुपहरु सहित जम्मा ६३ वटा मुख्य देवस्थलहरु दर्शन गरेका थिए।

अन्य सहयोगीहरुले परिक्रमा टोलीलाई करिब ६ घण्टा अवधि भर सक्दो सहजीकरण गरेका थिए। झण्डै १८ घन्टाको यात्रा यसपटक बने बिहान ५ः४५ बजे रुद्रवर्ण महाविहार ओकुबहालबाट शुरु गरिएको मतयाः अन्तमा गुइतः नकिं दर्शन पश्चात भिन्छेबहाः हुदै करिव १२ः३० बजे ओकुबहाः पुगेर समापन गरिएको थियो।

यस पर्वमा विशेष मानिने महत्वपूर्णरुपमा चलिआएका परम्परागत साँस्कृतिक बाजागाजाहरु सहित श्रद्धालु भक्तजनहरुलाई सहभागीता गर्न नसकिने परिस्थिति र अनेकन पूर्व तयारीको बाबजूद सम्बन्धित सबै श्रद्धालु भक्तजनहरु समाहित गर्न असमर्थ भएको प्रति निकै दुःख र अभावको महशुस भएको आयोजकका तर्फबाट ब्यक्त गरिएको छ।

यसबाट पर्न गएको भावनात्मक चोटका निम्ति सरोकारवाला समस्तप्रति पुनः क्षमाप्रार्थी भएको बताउंदै ललितपुर उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य समेत रहेका न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ का सदस्य रूपेन्द्र शाक्यले वताए।


प्रकाशन मिति–२०७७ साल साउन २१ गते बुधवार ।