काठमाडौं। असारमा मुठ्ठी रोपेर मंसीरमा मुरी फलाउने दिनका रुपमा आज असार १५ गतेलाई लिइने गरेको छ। अर्थात आज धान रोप्ने आज असार १५ अर्थात् धान दिवस।

दही–चिउरा खाएर देशभर धान रोपेर धुमधामकासाथ असार १५ लाई मनाउने कार्य भएको छ। कृषि प्रधान मुलुक नेपालको प्रमुख पेशा नै कृषि हो। यो कृषि पेशाको प्रमोसनको लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा विसं.२०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ। यसवर्ष धान दिवस मनाइरहंदा कृषकहरुलाई विश्वभरि महामारीको रुपमा फैलिदै रहेको सलह किराको प्रवेश भारत हुंदै शनिवारवाट नेपाल प्रवेश भएवात व्यापक चिन्ता बृद्धि भएको छ।

बालीनालीलाई सखाप पार्ने सलहको कारण यो बर्षको धानबालीलाई सखाप पार्ने हो कि भन्ने कृषकहरुमा चिन्ता भएको हो। नेपालका तराईका जिल्लाहरुमा शनिवारवाट सलह किराको प्रवेश भएयता खासै त्यस्तो नोक्सानी नगरेको पाइएतापनि ढुक्क हुन नसकेको किसानहरुको भनाइ रहेको छ। सरकारले यस विरुद्ध अनेक उपाय गरेर कृषकहरुको बालीनालीलाई जोगाउने उपाय गरिरहेको छ।

धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ। कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ। राष्ट्रिय उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ।
तस्वीर सौजन्य–कविन्द्रमान शाक्य & Nabin K Shrestha.
प्रकाशन मिति–२०७७ साल असार १५ गते सोमवार ।