काठमाडौं। लामो समयको लकडाउनको मारमा परेका व्यवसायीले असार १ गते सोमवारदेखि काठमाडौंका सपिङ मल खोलेका छन्। लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूले भनेका छन्।

उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी सोमबारदेखि मल सञ्चालन गरिने बताएका छन्। उनीहरूले यसको बोधार्थ नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघलाई दिएका छन्।

व्यवसायीले सोमबारबाट मल सञ्चालन गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले भनेका छन्। स्थानीय सरकारसँग बसेको व्यापार महासंघ र १७ वटा व्यापार संघको बैठकले शनिबार यस्तो निर्णय गरेको उनको भनाई छ।

होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको पनि उनले बताएका छन्। जसमा स्थानीय सरकारले पसल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ। सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर सपिङ मल संचालन गरिएको छ।


प्रकाशन मिति–२०७७ साल असार १ गते सोमवार ।