काठमाडौं। असोज ५ गतेवाट लामो सवारी साधन र आन्तरिक उडान सञ्चालन हुने भनिएकोमा सरकारले अव असोज १ गतेवाटै गर्ने भएको छ। सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वताएका छन्।

कोरोना संक्रमणको महामारीका कारण गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन हुने भएको हो। लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ। तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने भनिएको छ ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा वताएका छन्। प्रवक्ता ज्ञवालीका लामो दुरीको यातायात सञ्‍चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको छ।

सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ। संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।