काठमाडौं। गत बैशाख १६ गते देखि भौतिक रुपमा विद्यालय बन्द भएकोमा अव भने खुलाउने तयारी भएको छ। काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको हो।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकाका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक(कर्मचारीले खोप लगाए–नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ।

त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने भएको छ। सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए।

काठमाडौंमा यसअघि नै अघिल्लो हप्तावाट गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमा विद्यालयमा पठनपाठन गराउन विद्यालय खुलाइसकेको छ। त्यस्तै, पर्सा लगायतका केही जिल्लामा पनि विद्यालय खुलिसकेको छ।

प्रकाशन मिति–२०७८ साल भाद्र २१ गते सोमवार ।