काठमाडौं। एकेडेमी अवार्ड (अस्कर)को ९२ औं संस्करणका लागि नेपालबाट फिल्म ‘बुलबुल’ले सहभागिता जनाउने भएको छ। अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि बुलबुललाई नेपालस्थित अस्कर छनोट समितिले निर्विरोध चयन गरेको हो।

समितिका सचिव चिरञ्जीवी गुरागाईंले फेसबुकमार्फत् फिल्म चयन भएको पुष्टि गरेका हुन्। समितिले गत बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो। फिल्मको पटकथा लेखन र निर्देशन बिनोद पौडेलले गरेका हुन्।

फिल्मले टेम्पो चालक महिलाको जीवन र मनोविज्ञानको कथा समेटेको छ। जसमा मुख्य भूमिका अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेकी छन्। अन्य कलाकार लक्ष्मी बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङ, आशिका पाण्डे लगायतको पनि अभिनय छ।

फिल्म चयन समितिले २०७५ असोज १५ गतेभन्दापछि तथा २०७६ साल भदौ १३ गतेभन्दा पहिला प्रदर्शन भएका फिल्महरुलाई सहभागिताको लागि आह्वान गरेको थियो। तर, तोकिएको समयावधी भित्र ‘बुलबुल’ बाहेक अन्य फिल्मले आवेदन पेश गरेनन्।
प्रकाशन मिति–२०७६ साल भदौं २५ गते बुधवार ।