काठमाडौं। अरु देशको तुलनामा अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या एक वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ। अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांकअनुसार सन् २०१७ मा ३५ हजार २ सय १२ विद्यार्थी भर्ना भएकामा २०१८ मा यो संख्या बढेर ५२ हजार २ सय ४३ पुगेको छ। जुन गत वर्षको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो।

अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा चीन र भारतपछि नेपाल तेस्रो स्थानमा छ।
विभागले अध्ययनका लागि अस्ट्रेलियाका विभिन्न शैक्षिक निकायमा भर्ना भएका ८ लाख ७६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालका विद्यार्थी ६ प्रतिशत रहेको जनाइएको छ। विभागले नेपाली विद्यार्थीहरू सबैभन्दा धेरै उच्चशिक्षा अध्ययन गर्न आएको उल्लेख गरेको छ।

त्यसपछि क्रमशः व्यावसायिक तालिम, अंग्रेजी अध्ययन र विद्यालय अध्ययनका लागि आएको तथ्यांक सार्वजनिक गरेको छ। जसअनुसार उच्चशिक्षा अध्ययनका लागि २८ हजार ३ सय र व्यावसायिक शिक्षाका लागि १९ हजार ४ सय भर्ना भएका छन् । अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या विगत ४ वर्षको अनुपातमा करिब २ सय ५० प्रतिशतले वृद्धि भएको छ। अस्ट्रेलियाले केही वर्षअघिदेखि विद्यार्थी भिसालाई व्यवस्थित गर्दै अनुमतिप्राप्त शैक्षिक संस्थालाई यससम्बन्धी धेरै अधिकार दिएको छ। जसले गर्दा पनि अध्ययनकै लागि आउने विद्यार्थीलाई सहज भएको बताइन्छ।

अस्ट्रेलियामा विद्यार्थी बढ्नुको कारणमा स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) पाउन अन्य देशको तुलनामा सहज हुनु, विश्वस्तरका शैक्षिक संस्थामा अध्ययन गर्न पाउनु, आफन्त तथा साथीभाइ धेरै हुनु र भाषाको सहजता हुनु रहेको छ।अस्ट्रेलिया अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई दुई साताको ४ ० घण्टा कानुनी रूपमा काम गर्ने अधिकार दिएको छ। त्यसबाहेक पढाइ बिदा भएको समयमा आफूले चाहेजति काम गर्नसमेत छुट दिइएको छ।

अस्ट्रेलियामा विद्यार्थीहरूले सामान्य काम गरेर पनि न्यूनतम प्रतिमहिना १ हजार ६ सय डलर (करिब १ लाख ३० हजार नेपाली रुपैयाँ) कमाउन सक्छन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र २५ गते सोमवार ।