काठमाडौ। अस्ट्रेलियामा गरिएको ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको छ। यो सर्वेक्षणमा ६१ दशमलव ६ प्रतिशत मानिसले समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन्।

सर्वेक्षणमा ७९ दशमलव ५ प्रतिशत मानिस सहभागी भएका थिए। समलिंगी विवाहका बारेमा सरकारले आठ हप्तासम्म चलाएको पोस्टल सर्वेक्षणमा अधिकांश मानिसले यसको पक्षमा मतदान गरेका हुन्। यो सर्वेक्षणमा १ करोड २७ लाख मानिस सहभागी भएका थिए। जसमध्ये ६१ दशमलव ६ प्रतिशतले समलिंगी विवाहको समर्थन गरेका थिए। सरकारले यो सर्वेक्षणमा सहभागी हुन र आफ्नो राय दिन कसैलाई बाध्य पारेको थिएन।

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुले समलिंगी विवाहको पक्षमा नागरिकको मत आए त्यसलाई यस वर्षको अन्त्यसम्ममा कानुनी मान्यता दिने बताएका थिए। यस विषयमा संसदमा भने राय बाझिएको थियो । प्रधानमन्त्री टर्नबुल समलिंगी विवाहको समर्थनमा छन्। तर सरकारमा सहभागी अरु सबै सदस्यको एकमत छैनन्।

सर्वेक्षणको नतिजा आएपछि प्रधानमन्त्री टर्नबुलले समलिंगीहरुले न्यायको अनुमति पाएको बताएका छन्। अस्ट्रेलियालाई उदारवादी देश मानिन्छ। तर, सन् २००४ मा अस्ट्रेलियाले कानुन संशोधन गर्दै समलिंगी विवाहमाथि प्रतिबन्ध लगाएको थियो। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २९ गते बुधवार ।