–शिला सायमी
यदि ! बौद्ध भएकै कारणले बांच्न मुस्किल हुने भए म आज देखि घोषणा गर्छु म बौद्ध हैन ! म अबौद्ध हुं । किनकि जबदेखि मैले बोल्ने र बुझ्ने भए– यो नगर, त्यो नगर भनी पापको डर देखाएर कमजोर बनाइदिए। जतिपनि नगर, गर्नु हुंदैन भनि नरक देखाएर तर्साइयो नि ! त्यो सबै अरुले गरिरहेको छ। खोइ ! उनीहरुलाई पाप लागेन त ? मैमात्र सोझो र लाटो भएर घाटामा बाँची रहेछु।

नेताहरु झूठै बोलेर सत्ता चलाइ रहेका छन्। कर्मचारी घुसै खाएर महल बनाई रहेका छन्। ठूला बडा हाकिमका साथै उच्च पदका ब्यक्तिहरुको बैठक कोठामा विदेशी ह्वीस्कीले सजिएका हुन्छन्। नदेखेको कुरा कसले भन्न सक्छ र ? देख्ने बलात्कारको संख्या गन्नै नसकिने छन्। अहिंसावादी बुद्ध जन्मेको देशमा हत्याको त झन लेखाजोखा नै छैन। हजारौं मान्छे मारेर आएका व्यक्ति नै प्रधानमन्त्री हुंदो रहेछन्। जो हिंसा अदृश्य रुपमा भैरहेका छन्, त्यसको लेखाजोखा न त कुनै सरकारले नै गरेका छन्, न त आफूलाइ बौद्ध भन्नेहरुले नै राखेका छन्। न त बुद्ध भगवान आफै आएर सोधेका छन्।

के घांटी रेट्नु मात्रै हत्या हो र ? खुकुरी प्रहार गर्नु मात्रै हिंसा हो र ? कसैको रोजिरोटी खोस्नु हिंसा हैन ? दाजुभाईले अंश मार्नु, नाता कुटुम्बले धोका दिनु, साथीभाईले बेइमान गर्नेु हिंसा हैन र ? यदि हिंसा हो भने कानून कहाँ लुकेर बसेको छ ? नालान्दा विश्वविद्यालय ध्वस्त पारे, कसैले सुरक्षा दिन सक त ? शंकराचार्यले बौद्ध स्टुपहरु ध्वंस्त पार,े कसले रोक्न आए ? विरुधपले ७० हजार शाक्यबंशको हत्या गरे, कसले रक्षा गर्न आए ? बुद्धको पालामा मात्रै हैन केही वर्ष अगाडि मात्रै भिक्षुणीे बलात्कृत भए, कसले पो बचाउन आए ?

बल्ल आज कोही आएर पशुवलिको विरोध गर्न थाले। गढिमाईमा नारा जुलुस समेत भए। सारा विश्व पशु बलिको विरोधमा उत्रिए । हाम्रा बौद्ध विद्धानहरु पशुवलिको विरोधमा एकत्रित भए। के पशुवलि रोक्नु मात्रै बुद्ध धर्मको मर्म हो र ? नरबलि रोक्नु आवश्यक छैन ? ठाँउठाँउमा सडक विस्तारको नाममा घरहरु भत्काइएको छ । झन्डै डेढलाख मानिस घरबारविहिन भैसकेको अवस्था छ । कति हर्टएटेक भएर मरे, कति आत्महत्या गरेर मरे, कति दीर्घ रोगी भएर मरे, कति मर्नु न बांचुं अवस्थामा छन्, कतिको रोजगार गुमे, कतिको पढाई बिग्रे, कति पागल भए । के यिनीहरुको जीवन बर्बाद भएर मर्नु भनेको हत्या हैन र ? यो हिंसा भित्र पर्दैन र ? खेै त यिनीहरुको लागि कसैले आवाज उठाएको ?

आज बौद्ध भएकै कारणले नेवार समुदाय पिडित भएका छन् । पुखौं देखि नगर, नबोल, भनी पापको डर देखाएको कारणले बोल्ने आंट नै गर्न सकेका छैनन् । सरकारले यति दबायो कि आफ्नो घर भत्काई घरबाट प्रहरीले घोक्राएर निकाल्दा पनि आँखाबाट बरबर आंशु झार्नु बाहेक प्रतिकार गर्न सकेनन्। दुईचारजना विरोधमा उत्रेपनि सबैकोे हिम्मत भएन।

बौद्ध विद्वान डा. केशवमान शाक्य पशुबलिको विरोध गर्नु हुन्छ। तर, सडक विस्तारबाट आव्हान गरिएको नरबलिको विषयमा भने मौन बस्नु भएको छ। बौद्ध विद्वान महिश्वर राज बज्राचार्य आफ्नो कलेजमा तन्त्र विद्या पढाउन चाहनु हुन्छ , तन्त्र विद्यामा पनि कहिं कतै बलि दिनुपर्छ भन्ने कुरा सुन्नामा आउंछ ! उहांले कस्तो प्रकारको तन्त्र विद्या पढाउनु हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

गुरु श्रीधर राणा रिम्पोछे, बज्राचार्यहरुले आफ्नो परम्परा विर्सेको कुरा गर्नु हुन्छ, तर उहांलाई पनि लोकतन्त्र र गणतन्त्र बाहुनलाई मात्र आएको हो, नेवारलाई आएकै छैन भन्ने ज्ञानै रहेन छ। बौद्धविद्वान राजेन मानन्धर हरेक साल पशुबलि बन्द गर्नुपर्ने कुरामा जोड दिनु हुन्छ, तर सडक विस्तार करको नाममा भएको आफ्नै नेवार जातिको विनास भने चाहेर पनि केही गर्न नसकी टुलुटुलु हेरेर बस्नु परेको बाँध्यता छ।

अस्ति भर्खरकै कुरा हो, सडकविस्तारबाट पिडित श्याम मानन्धरको घर भत्काउँदा उहाँको आमा हर्ट एटेक भएर वित्नु भयो। विसं.२०७० सालमा बालाजु बाइपासमा पहिलो पल्ट डोजर चलाउँदा पहिलो एटेक भएको थियो । औषधी उपचार गरेर बचाई राखेको थियो। ८८ वर्षको वृृद्धालाई बचाउन कत्ति गाह्रो भयो होला ? र्औषधी खर्च कति लाग्यो ? उहाँलाई कति सास्ति भयो ? छोरा बुहारीलाई कति दुःख भयो ? कसैले अनुमान गरेको छ ? सातबर्ष पछि गत श्रावण महिनामा शनिबार गाईजात्राको दिन पारेर फेरि बांकी घर भत्काउन डोजर आउँंदा सहनै नसकेर मृत्यु भयो। उहाँको लागी कसैले आवाज उठाउनु भयो ? के यो हत्या हैन ?

आज पशुवलिको विरोधमा सडक तातिरहेको छ, तर उहाँ ८८ बर्षको बृद्धा ७ बर्ष छट्पटि छट्पटि मरे। के यो पशुबलि भन्दा कम छ र ? गत असोज २४ गते मात्रै अर्को पिडित ६८ बर्षिय तिर्थमान श्रेष्ठ उपचारकै क्रममा वित्नु भयो। मान्छे बांचुन्जेल अनेक कृयाकलापहरु गरिरहेको हुन्छ। जुन त्यस ठाँउमा निर्भर हुन्छ। त्यहांको रहन सहन र समाज, ठाँउ अनुसार संस्कृति र संस्कार पनि फरक हुन्छ। यो प्रकृतिको नियम हो। प्रकृतिको विपरित कोही जान सकिंदैन। हिमालतिर धेरै जाडो भएको कारणले मासु र रक्सी बढी मात्रामा खाने गर्छन्। तराईमा गर्मी भएको कारण मासुजन्य पदार्थ कम मात्र खाने गर्छन्।

मानिस दुई प्रकारका छन्। एकथरि शाकाहारी, अर्काथरि मांसाहारी। जंगली युगमा काँचै मासु खाएर आएका हामी मानिसहरु विकसित रुपमा आएपछि मासु खान छोडेर शाकाहारि पनि भए। तर, पनि मासु खाइसकेको स्वाद छोड्न नसक्ने आज पनि मांसाहारी नै रहे। अन्यथा नसोच्नु होला कुनै बेला नरबलि दिने चलन थियो भन्ने कुरा यदाकदा सुन्नमा आए पनि, चेतनाको विकाश भएपछि नरबलि दिन छाडे। यस्तो अवस्थामा आफूलाईं पण्डित वा विद्वान भन्नेहरु पशुवलिको सत्ता आफ्नै छोराछोरीको वलि दिनु भन्ने कत्तिको उपयुक्त छ ?

हामी राक्षस हैनौं। अमानवीय काम पनि गर्दैनौं । यसको प्रमाण गंप्याखं (देवनाच)ले देखाउंछन्। गंछिप्याखं (गण नाच)मा ननचाइने एउटा मुखौता पनि ल्याएको हुन्छ। जसलाई महालक्ष्मी भनिन्छ । यसलाई तुखोमा राखेर गणनाच देखाइराखेका हुन्छन्। त्यस देवीलाई ननचाइनुको कारण देवीले नरवलि मागेको किंवदन्ति छ । त्यस्तै कंग अजिमाको पनि पहिला पहिला गणनाच थियो रे। त्यसमा पनि देवीले नरवलि मागे पछि नाच नै बन्द गरिदिएको बुढापाकाहरु सुनाउने गर्छन्। तर, पशुवलि किन दिन्छन् भन्नेकुरा भने बुझ्न सकेको छैन।

अब प्रसंग आउंछ पाप र धर्मको। एउटा रांगाको मासु १०० जनाले खान्छन्, एकजना मान्छेले ५ वटा माछा खान्छ भने पापको भारी कता बढी हुन्छ, हिंसा बढी कहाँ हुन्छ ? दशैंमा एउटा बोका काट्नु र मासु पसलमा ३६५ खसी काट्नुमा हिंसा कहाँ बढी भयो? बोका होस् वा रांगा, कुखुरा होस् या हाँस् घाँटी रेटीरेटी मारेको दृश्य देख्दा मुटु कामेर आउंछ। आफूलाई रातभरि निन्द्रा लाग्दैन भने समुद्रमा दिनकै लाखांै माछा सुख्खा बालुवा वा फलामको भाँडामा छट्पटाएर मार्नुमा संख्याको र पापको भारि कता बढी देखियो ? उनीहरुको विरोध किन हुंदैन? दिनहूं पसलमा, होटेलमा, ठूल्ठूला महलमा काटिने, खसी, कुखुरा पशुवलि भित्र पर्दैन र ? तिनीहरुलाई रोक्नु पर्दैन ?

स्वनिगः (काठमाडौं उपत्यका) भित्र मात्रै अन्दाजि १ हजार मासु पसल छ भने प्रत्येक पसलमा दिनको सरदर ५०० रांगा, १,३३३ खसी र ५००० कुखुरा काटिन्छ भने शायद दशैंमा यसको डबल हुन सक्छ। वास्तवमा भन्नुपर्दा सोझो र निरिहलाई हेप्ने र दबाउने काम पशुपंक्षीले मात्रै हैन मानिसले पनि गरिरहेका छन् भन्ने कुरा सर्वविदितै छन् । तर, मानवताको नाता देखाएर होस वा धर्मको नाम दिएर, एक निरिह जातिलाई लक्षित गरि प्रहार गरिएको हतियारलाई कदापि राम्रो मान्न सकिंदैन।

आज खोकना अर्घजलमा जलिरहेका छन् । यस्तोबेला उनीहरुलाई साथ दिनु सम्पूर्ण नेपालीको कर्तव्य हो। यदि खोकनावासी विस्थापित भयो भने कति सय परिवार र कति हजार मानिस जिउंदै मर्नेछन् ? के यो जानाजानी दिएको आहुति हैन र ? सोचनीय विषय छ।

अन्त्यमा, वलि कै कुरा गरौं, सिक्काको मात्र हैन, जुनसुकै वस्तुको पनि दुई पाता हुन्छन्, उल्टो र सुल्टो । एक पक्षलाई मात्र हेर्दा अर्को पक्षलाई अवश्य घात हुनेछ, त्यसैले विकासको नाममा गरिएको विनास होस् वा अधिकारको नाममा गरिएको वलि होस् कसैलाई दवाव दिएर भन्दा समयको हातमा छोडिदिए उपयुक्त होला कि ?


(लेखक शिला सायमी अग्रज पत्रकार तथा सामाजिक अभियन्ता हुनुहुन्छ। यो उहाँको नितान्त व्यक्तिगत विचार मात्र हो। –समाचार सम्पादक)
प्रकाशन मिति–२०७७ साल कात्तिक ७ गते शुक्रवार (फूलपाती)