काठमाडौं। काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ। शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो।

इमेज खवरका अनुसार, जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासन (सिडियो) कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले साउन २५ गते (आइतबार)देखि भदौ ८ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।

सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो। बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्तारपत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन् ।

यस्तै, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय भएको छ। तत्काल लकडाउन नगरिए पनि काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार, ‘जहाँजहाँ कोरोना संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ।’ त्यसअनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गरिने भएको छ। सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृह मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा पठाउने निर्णय पनि भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

काठमाडौं उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाइएको छ। काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएमा स्थानीय प्रशासनले निषेधाज्ञासम्म लगाउन सक्ने गरी तयारी गरिएको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २३ गते शुक्रवार ।