काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ। गत जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा ६ मा १४ दिन आइसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षण नगरी घर फर्काउने भन्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो।

न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको सन्दर्भमा आइसोलेसनमा राखिएका बिरामीलाई बिनापरीक्षण घर फर्काउने काम मानवीय र संविधानसम्मत हुने देखिँदैन।’

सर्वोच्चले आइसोलेसनमा रहेकाहरुलाई परीक्षण गर्न सक्ने क्षमता रहेको नै देखिएको भन्दै सर्वोच्चले आइसोलेसनमा रहेकाहरुको पीसीआर परीक्षण गरी रोगमुक्त भएपछि मात्रै घर पठाउनु भन्ने आदेश गरेको हो। कोरोनाको त्रासमा रहेका बिरामीको मानसिक सन्त्रास पनि हटाउन पनि अर्को परीक्षण आवश्यक हुने आदेशमा उल्लेख छ।
प्रकाशन मिति–२०७७ साल असार ९ गते मंगलवार ।