काठमाडौं। मूलधारको नेपाली भाषाको पत्रकारिताभन्दा बढी कठिनाइ वर्तमान अवस्थामा मातृभाषी पत्रकारिताको रहेको छ। मातृभाषी पत्रकारिता व्यावसायिकता भन्दा भावनात्मक रुपमा बढी चलिरहेको वर्तमान अवस्था रहेको छ। यो अवस्थालाई मध्यनजर गरेर नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय आयोजनामा आजको नेपालभाषा पत्रकारिता विषयक गहन अन्तरक्रिया कार्यक्रम भएको छ।

आइतवार आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको कार्यक्रम संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम भएको हो। अन्तरक्रिया कार्यक्रमको प्रमुख आकर्षणको व्यक्तित्व नेपालभाषा पत्रकारिताका धरोहर नेपालभाषा पत्रकारिताका बरिष्ठ पत्रकार तथा नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरण मानन्धर रहेको थियो।

सम्पादक मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालभाषा पत्रकारिता व्यावसायिकता भन्दा बढी भावनात्मक रुपमा चलेको कारण व्यावसायिकता हुनुपर्ने कुरामा मानन्धरले बढी जोड दिएका थिए। नेपालको पत्रकारिता क्षेत्र नेवाहरुको महत्वपूण योगदान रहेपनि राज्यले यसको मुल्यांकन नगरेकोमा शाक्यले दुःख व्यक्त गरेका छन ।

आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय सदस्य विराजकाजी राजोपाध्यायले भाषाकै कारण बंगलादेश विभाजित भएको बताउँदै भाषाको महत्व र आवश्यक्ताबारे प्रष्टाएका थिए। नेपाल भाषा पत्रकारिताको आफ्नो अनुभवमा हिजोका दिनमा नेपालभाषाका सञ्चारमाध्यम निक्कै कम भएको कारण विज्ञापन पाउन सहज थियो भने, आजको अवस्थामा सञ्चारमाध्यम धेरै भएकोले विज्ञापन कम हुन गएको अवस्था रहेको भएतापनि समाचारको माध्यम भने फराकिलो हुंदै गएको तर्क राजोपाध्यायको रह्यो।

त्यसैगरेर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल भाषा पत्रकारिकताको ईतिहासबारे बोलका थिए। श्रेष्ठले नेपालको पहिलो सन्ध्याकालिन दैनिक पत्रिका विश्वभूमि दैनिक पत्रकारिता त्यसबेला कति प्रभाविकारी र व्यवासायिक थियो भन्ने कुराको स्मरण गराएका थिए। कार्यक्रममा नेवाःटेलिभिजन एचडीका अध्यक्ष तथा कार्यकारी प्रमुख नविन जोशी, नेपालमण्डल टेलिभिजनकर्मी मीना बज्राचार्य लगायतले नेपालभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा आ–आफ्ना विचार र अनुभव सुनाएका थिए।

आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रम दबूका केन्द्रिय सचिव केके मानन्धरले सञ्चालन गरेका थिए। कार्यक्रममा नेपालभाषा चलचित्रका प्रथम नेपालभाषा पत्रकार बिजयरत्न तुलाधर, दबूका पूर्वअध्यक्ष श्रीकृष्ण महर्जन, दबूका महासचिव सुनिल महर्जन, बरिष्ठ पत्रकार रमेशकाजी स्थापित लगायतकाको उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन १० गते सोमवार ।